गुराँस गाउँपालिकाले बेच्यो १५ करोडको तरकारी, ४ सय युवालाई गाउँमै रोजगारी


मंसिर ५, दैलेख
तरकारी उत्पादन प्रशस्त हुने दैलेखको गुराँस गाउँपालिकाले गत वर्ष १५ करोडको तरकारी उत्पादन गरेर बिक्रि बितरण गरेको छ । लेकाली भू–भाग भएका कारण प्रशस्त मात्रामा यो क्षेत्रमा आलु, मुला, काउली, बन्दा, सिमि लगायतका तरकारी उत्पादन हुने गर्दछ ।
परम्परागत रुपमै तरकारी खेती उत्पादनमा लागेका किसानहरुलाई थप सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरेपछि तरकारी उत्पादन बढेको हो । बिशेष गरेर गुराँस गाउँपालिकामा अहिले आलु उत्पादनलाई महत्व दिईएको छ । गाउँपालिकाका २,४,५ र ६ ७ का युवा, गरिव, बिपन्न समुदाय र कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई गत वर्षदेखि कृषिमा आवद्ध गरेसँगै ४ सय युवाहरुले स्थानीय स्तरमै तरकारी उत्पादनमा लागेर रोजगारी प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् ।
आलु उत्पादन र बजारिकणका लागि गुराँस गाउँपालिका र यूनएनडिपिको संयुक्त साझेदारीमा महिला सशक्तिकरण मञ्च दैलेखको सहकार्यमा यस्तो अभियान थालिएको छ । किसानहरुलाई उन्नत बिऊ बितरण, किसानले उत्पादन गरेका आलुको विऊ भण्डारणका लागि गाउँमै विऊ संरक्षण अभियान सुरु गरिएको छ । कामको खोजीमा भारत जाने युवाहरु गाउँमै आम्दानी भएपछि रोकिएका छन् । विपन्न वर्गको आर्थिक उत्थानका लागि आलु उत्पादनलाई बिशेष महत्व दिईएको यूएनडिपिका आर्थिक सामाजिक पुर्नउत्थान परियोजनाका अमित बिष्टले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्था भएका नागरिकहरु तरकारी उत्पदान अभियानमा लागेका कारण आर्थिक अवस्था सुधारका पाटाहरु सुरु भईसकेको बिष्टको भनाई छ ।
उत्पादन क्षेत्रको स्थलगत अध्ययन गरेका आलु बिशेषज्ञ डा. भिम खत्रीले बजारिकरणको कुनैपनि समस्या नभएकोले गुराँसेका किसानहरुले आलु उत्पादनबाट लाखौं आम्दानी लिन सक्ने र गाउँमै रोजगारी हुने बताएका छन् । बजारीकरणको कुनैपनि समस्या छैन्, आम्दानीको राम्रो स्रोत हुने भएपछि किसानहरुमा उत्साह थपिएको खत्रीको भनाई छ ।
तरकारी उत्पादन र पशुपालन क्षेत्रमा गुराँस गाउँपालिका र युएनडिपिको आर्थिक लगानीमा महिला सशक्तिकरण मञ्चले कार्यक्रमको सहजिकरण गरेको र कार्यक्रम अन्तर्गत १ करोड ८० लाख रकम खर्च गरिएको महिला सशक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार